Saturday, August 5, 2017
#Breaking News अन्तत भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी
२१ साउन, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तर्फबाट संयुक्त उमेद्बार रेणु दाहाल बिजयी भएकी छिन् । यस्तै उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् । उनले एमाले उमेद्बार देवी ज्ञवालीलाई २३५ मतान्तरले पराजित गरेकी हुन् ।
विवादास्पद घटनाक्रम र पछि परेको अवस्थालाई उल्ट्याउँदै महानगरकी पहिलो महिला मेयर निर्वाचित भएकी हुन् रेणु दाहाल। निर्वाचन आयोगले परिणामको औपचारिक घोषणा गर्न बाँकी छ।वैशाख ३१ गतेको पहिलो चरणको स्थानीय निर्वाचनमा मतगणना चलिरहँदा आफ्नो हार सुनिश्चित देखेपछि माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए। मतपत्र च्यातिएपछिको राजनीतिक विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुग्यो। अदालतले भरतपुरको वडा नम्बर १९ मा पुनः मतदानको निर्णय गरेको थियो।
वडा नम्बर १९ मा गत जेठ महिनामा पहिलो ६ सय मत गन्दा रेणुको अग्रता २० भोटले मात्र देखिएको थियो। १८०९ भोट गनिसक्दा ७३३ मतले एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता थियो। त्यति नै बेला मतपत्र च्यातियो र मतगणना स्थगित भयो। वडा नम्बर १९ को मतगणना शनिबार बिहान सकिँदा देवी ज्ञवालीको अग्रता २२१ ले मात्र रह्यो। यो हिसाबले लगभग ५ सय मतको फाइदा रेणुलाई भएको देखिन्छ।
यद्यपि वडा नम्बर १९ को मतगणना सकिसक्दा पनि देवी ज्ञवालीको अग्रता कायमै थियो। तर पासा पल्टाउने काम गर्यो वडा नम्बर २० का ३३ सय मतले। वडा नम्बर २० को मतगणनामा रेणुले मतअन्तर घटाउँदै लगिन्। आधा मत गनिसक्दा रेणु र देवीको मत बराबरमा आयो। बाँकी आधा मत गन्न थालेपछि भने रेणुको अग्रता रह्यो। यो अग्रता कायमै रहेकोले धेरैले सोचे जस्तो रेणु दाहालको विजय सम्भव भयो।
को हुन् रेणु दाहाल?
भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित रेणु दाहाल २०३३ साल असार २१ गते चितवनस्थित शिवनगरमा जन्मिएकी हुन्। पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी उनले एसएलसी सम्मको औपचारिक अध्ययन गरेकी छन्।
उनले ०५१ सालमा तत्कालिन नेकपा माओवादीको पार्टी सदस्यता लिएकी थिइन्। उनी ०५३ सालबाट माओवादीको पूर्वकालिन सदस्य बनिन्। त्यतिबेला उनी १० कक्षामा अध्ययनरत थिइन्। दाहाल ०६२ सालमा पार्टीको रोल्पा जिल्ला सह–इञ्चार्ज भएकी थिइन्। रेणु पार्टीभित्र भद्र र शालीन नेत्रीका रुपमा परिचित छन्। तडकभडक रहित सरल जीवनशैली, कार्यकर्तासंगको मिजासिलो व्यवहारका कारण उनी पार्टीपंक्ति भित्रपनि प्रशंसित छन्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment