Monday, August 7, 2017
अविरल वर्षासँगै बगेको पहिरोमा परी हराएकाको उद्धार कार्य शुरु,
रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा अविरल वर्षासँगै बगेको पहिरोमा परी हराइरहेकाको उद्धार कार्य शुरु भएको छ ।
आइतबार राति बस्तीमाथिबाट बगेको पहिरोमा परी हराएका ७२ वर्षीय धर्मबहादुर थापामगर, उहाँकी बुहारी २८ वर्षीया मुना, तीन वर्षीय नाती रविन र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटीको खोजी गर्न नुवाकोट र रसुवाका सुरक्षाकर्मी खटिएका छन् ।
अविरल वर्षासँगै पहिरो बग्ने क्रम आज मध्याह्नबाट रोकिएपछि पहिरो पन्छाएर खोजी शुरु गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । “पहाड खसेर बस्तीमा बजारिँदा पैरेबेसीमा नौवटा घर पुरिएका रहेछन्”, उहाँले भन्नुभयो, “हराएका व्यक्तिको घर यकिन गरी उद्धारकर्मी र ‘हेभिइक्युमेन्ट’ प्रयोग गरी खोजी शुरु गरेका छौँ ।”
उद्धारमा लाङ्टाङ निकुञ्ज सुरक्षार्थ रहेको नेपाली सेनाको कालीजंग गणका प्रमुख सेनानी शीतल बानियाँको नेतृत्वमा ३८ जना, श्रीनाथ गण देवीघाटको सेनानी रमेश गुरुङको नेतृत्वमा २५ जना, रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंको नेतृत्वमा ८० जनासहित सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक मुकुन्द घिमिरेको नेतृत्वमा ६० जनाको टोली गरी २०० भन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।
पहिरोमा परी गम्भीर घाइते भएका ३५ वर्षीया बिन्दा थापामगरलाई नेपाली सेनाको टोलीले उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएको छ । घाइते देवकी थापामगर, रुद्रबहादुर थापामगर र कान्छी थापामगरको स्वास्थ्य केन्द्र शान्तिबजारमा उपचार भइरहेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिनुभयो ।
बस्तीको माथि जंगल क्षेत्र भए पनि अविरल वर्षासँगै पहाड नै खसेर बस्तीमा बजारिन पुगेको हो । पहिरोबाट विस्थापित भएका शिवप्रसाद भट्टराईका अनुसार पानी परिरहेको समयमा ससाना ढुंगा आएको केही समयपछि एकैपटक पहाड खसेको हो ।
पैरेबेसीमा पहाड खसेर १५ घरपरिवार विस्थापित भएका छन् भने नजिकै रहेको अमिले खोला, भ¥याङ खोला र खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा अन्य १२ घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई उद्धारपश्चात् माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनाको कोलनीमा राखिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment